कर्णाली — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिनुभएको हो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी काङ्ग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उहाँले आर्थिक सम्पन्नता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो,“जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”