काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको छ । सरकार गठन प्रक्रियालाई लिएर शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठले बैठकमा कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावको विषयमा गम्भीर समीक्षा भएको जानकारी दिनुभयो । उहाँले कोशीमा दुवै पक्षको बहुमत दाबी रहेकाले हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिने बताउनुभयो ।
सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनले राप्रपाको साथ खोजेको थियो । तर बिहीबार काङ्ग्रेसको शेखर पक्षले विद्रोह गरेपछि राजनीति अर्कै मोडमा पुगेको हो ।

प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की (नेपाली काङ्ग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ । मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ कसलाई मुख्यमन्त्री बनाउने भनेर अन्योलमा हुनुहुन्छ । उहाँको आह्वानअनुसार संविधानको धारा १६८ (५) अन्तर्गत आङ्बो र कार्की दुवैले बहुमत सांसदको हस्ताक्षर पेस गर्नुभएको छ ।