फाइल तस्वीर: त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र लाओसबिच भएको खेल।


काठमाडौं– विश्वकप फुटबल छनोटको पहिलो चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र लाओस बिचको खेल बराबरीमा सकिएको छ । आज बिहीबार भएको पहिलो चरणको प्रतिस्पर्धामा दुवै टिमले १/१ गोल गर्दै अङ्क बाँडेका छन् ।

पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । लाओसका क्याप्टेन बौनफाचन बौनकोङले ३३ औं मिनेटम आफ्नो टिमलाई अग्रता दिलाएका थिए । घरेलु दर्शकको बाक्लो उपस्थितिमा मैदानमा उत्रिएको नेपाली टिमलाई स्तब्ध पार्दै पहिलो हाफमा अग्रता लिएको लाओसले मध्यान्तर पछिको सुरुवातीमा नेपालको तर्फबाट गोल खान पुग्यो ।

मध्यान्तरपछि खेलमा फर्किएको नेपालका लागि फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपाललाई बराबरी गर्न सफलमात्र भएनन् उनले आफ्नो फुटबल करियरको छोटो समयमै १३ औं अन्तर्राष्ट्रिय गोल समेत गरे । हरि खड्का र निराजन रायमाझीसँगै अञ्जन पनि अन्तराष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका मात्र छैनन्, उत्कृष्ठ लयमा रहेका उनका लागि गोलको नयाँ कीर्तिमान बनाउने ढोका समेत खुलेको छ ।

अञ्जनले अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सन् २०१९ को विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपेईसँगको खेलमा पहिलो गोल गरेका थिए । पाँच वर्षको अवधिमा अञ्जनले अन्तर्राष्ट्रिय फुटबट प्रतिस्पर्धामा १३ गोल गर्दै आफुलाई अब्बर खेलाडीका रुपमा दर्ज गर्न सफल भएका छन् ।

अञ्जनका लागि अन्तर्राष्ट्रिय गोल गर्ने अवसरहरु अझै बाँकी छन् । फिफा विश्वकप छनोट अन्तर्गतकै अर्को खेल नेपालले आगामी मङ्गलबार लाओस पुगेर लाओसकै विरुद्ध मैदानमा उत्रने छ । दुवै खेलमा समग्रमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ । दोस्रो चरणमा प्रवेश गर्नका लागि दुवै टिम जितको खोजिमा रहनेछन् । नेपालले आजको खेलमा घरेलु समर्थकहरुको सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । घरेलु समर्थकलाई १२ औं खेलाडीको रुपमा समेत परिभाषित गरिन्छ । अब लाओसले घरेलु दर्शकको समर्थनमा मैदानमा उत्रँदै जितको खोजि गर्नेछ ।