फाइल तस्वीरः अञ्जन विष्ट, नेपाली राष्ट्रिय टिमका फरवार्ड ।

काठमाडौं — दशरथ रङ्गशालामा जारी फिफा विश्वकप छनोट खेलमा नेपालले लाओसविरुद्ध गोल फर्काएको छ । एक गोलले पछि परेको नेपालका लागि फरवार्ड अञ्जन विष्टले गोल गर्दै बराबरी गरेका हुन् ।

यो गोलसँगै अञ्जन विष्ट नेपालका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । यस अघि खड्का र रायमाझीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोेगितामा १३/१३ गोल गरेको कीर्तिमान बनाएका थिए । अञ्जनले पनि उनीहरुले जस्तै १३ गोल गरेका छन् ।

उत्कृष्ठ लयमा रहेका अञ्जनले अझै नयाँ रेकर्ड बनाउने बलियो सम्भावना देखिएको छ । अञ्जनले अब हरि खड्का र निराजन रायमाझीको नाममा रहेको कीर्तिमान तोड्नका लागि एक गोल गरे पुग्छ । अब यो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउने सक्ने खेलाडीमा उनै अञ्जन देखिएका छन् । नेपाली फुटबलमा अञ्जनले नयाँ कीर्तिमानी बनाउन सक्ने छन् ।

यस अघि अञ्जनले दक्षिण एसियाली देशहरु भारत, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसहित चाइनिज ताइपेई, इराक र कुवेतविरुद्ध गोल गरेका थिए । अञ्जनले आफ्नो कीर्तिमानी थप्नेक्रममा बङ्गलादेशविरुद्ध एक ह्याट्रिकसहित सर्वाधिक ४ गोल गरेका थिए भने चाइनिज ताइपेईविरुद्ध ३ गोल गरेका थिए । उनको अन्तर्राष्ट्रिय गोलको सुरुवात नै चाइनिजक ताइपेईविरुद्धबाट भएको थियो ।

अञ्जनले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इराक, भारत, श्रीलङ्का, पाकिस्तान र कुवेतविरुद्ध १–१ गोल गरेका छन् । सन् २०१९ मा पहिलो दुई गोल गरेका अञ्जनले २०२१ मा सर्वाधिक ५ गोल गरेका थिए भने २०२२ मा ४ गोल गरेका थिए । आज उनले लाओसविरुद्ध गोल गरी नयाँ कीर्तिमानको ढोका खोलेका छन् ।