बैंङ्कक — उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । म्यान्माको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्ष्यित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको हो ।

पछिल्लो आक्रमण स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताउनुभयो । उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले बताएका छन् ।

“बालबालिकासहित २९ शव फेला परेको छ, ५६ जना घाइते भएका छन्”, शिविरमा कस्तो प्रकारको हमला भएको थियो भन्नेबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले कुनै विमानको आवाज सुनेनौँ ।”

सेनाले चीनको सीमामा रहेको लाइजा सहर नजिकै रहेको शिविरमा ड्रोन हमला गरेको हो कि भन्नेबारे पत्ता लगाउन खोजिरहेको पनि उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार हमलापछि काठका भग्नावशेषहरूबाट शव निकाल्न उद्धारकर्मीहरूले टर्चलाइटको प्रयोग गरेको तस्बिर देखाएका छन् । तस्बिरमा जमिनमा तौलिया र त्रिपाल राखेर कम्तीमा १० जनाको शव देखाइएको थियो । कर्णेल नाव बुले लियाजा नजिकैको अस्पतालमा ४२ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । 

सेनाले सन् २०२१ मा आङ सान सु कीलाई सत्ताबाट हटाएयता कचिन राज्यमा १० हजारभन्दा बढी मानिस विस्थाति भएका छन् । सन् २०२१ मा भएको सैन्य विद्रोहको व्यापक विरोध भएको र यसमा असहमति सेनाले राख्नेमाथि रक्तपातपूर्ण कारवाही गरेको छ । राजनीतिक बन्दीहरूका लागि सहयोगी संस्था (एएपीपी) का अनुसार सैन्य कारवाहीमा दसौँ हजार गिरफ्तार भएका छन् भने चार हजार एक सय मारिएका छन् ।