फाइल तस्वीर
कास्की — समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो ।
समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।
यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनुभयो ।
उहाँका अनुसार बैठकले मोर्चाका शीर्षनेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उहाँले बताउनुभयो ।
संयोजक गुरुङले भन्नुभयो, “सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो । मोर्चालाई प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्छौँ । सरकारले गरिरहेका कामका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौँ ।”
बैठकले इजरायलको गाजा क्षेत्रमा भएको द्वन्द्वमा परी नेपाली विद्यार्थीको निधन भएकामा दुःख व्यक्त गरेको छ । साथै विद्रोहीहरूको आक्रमणमा घाइते, बेपत्ता भएका र युद्धग्रस्त क्षेत्रमा अप्ठ्यारो अवस्थामा परेका नेपालीहरूको शीघ्र उद्धार र राहतका लागि सरकारसँग मागसमेत गरेको छ ।
मोर्चाको गण्डकी प्रदेश समितिमा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङसहित ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य हुनुहुन्छ । एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहनुभएको छ ।
यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहनुभएको छ । मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नुभएको छ ।