लेखनाथ — पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घद्वारा विसं २०६० मा एक सय रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालयमा हालसम्म २५ लाखभन्दा बढी पर्यटकले अध्ययन, अवलोकन गरिसकेका उहाँले जानकारी दिनुभयो । 

“पछिल्लो समय अधिकांश पर्यटकको रोजाइमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नै पर्ने गरेको छ”, न्यौपानेले भन्नुभयो, “गत साउनमा मात्रै १२ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।” उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सङ्ग्रहालयमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या एक लाख ३७ हजार चार सय ८८ रहेकामा आव २०७९÷८० मा त्यो सङ्ख्या बढेर दुई लाख पुगेको थियो । यो सङ्ग्रहालय पोखरामा पर्यटकको बसाइ लम्ब्याउन उत्तिकै महत्वपूर्ण बनेको उहाँको भनाइ थियो ।

सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४, सात हजार पाँच सयदेखि सात हजार नौ सय ९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार नौ सय ९९ मिटरसम्मका छ सय तीनसहित अन्य हिमाल गरी कूल एक हजार नौ सय १३ हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेशभूषा, संस्कृति, दैनिक उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनमा राखिएका निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

“सङ्ग्रहालयले मुख्य आम्दानीको स्रोत टिकटबाट उठ्ने शुल्क नै हो”, उहाँले भन्नुभयो, “आव २०७८÷७९ मा टिकट शुल्कबापत रू एक करोड ४३  सङ्कलन भएकामा आव २०७९÷८० मा रू दुई करोड ३४ लाख सङ्कलन भएको छ ।” 

सङ्ग्रहालय अध्ययन अवलोकन गर्ने पर्यटकका लागि टिकट शुल्कबापत विद्यार्थीका लागि रू ५०,  सर्वसाधारण नेपालीका लागि रू एक सय, सार्कस्तरीय पर्यटकलाई रू दुई सय ५० र बाह्य पर्यटकका लागि रू पाँच सय लिइँदै आएको न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै लामो समय नेपालमै बसोबास गर्दैआएका विदेशी नागरिकलाई रू दुई सय ५० र सङ्ग्रहालयको बगैँचा मात्रै अवलोकन गर्नका लागि रू ३५  लिने गरिएको उहाँले बताउनुभयो ।

वर्षका सबैदिन खुला रहने सङ्ग्रहालयमा दसैँ र तिहारको लामो बिदामा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने न्यौपानेको भनाइ थियो । उहाँका अनुसार विश्वका हिमशृङ्खलाको उत्पत्ति, महत्व, यस क्षेत्रका वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थलगायत सामग्री सङ्ग्रहालयमा राखिएका छन् ।

“विसं २०६० मा पोखरा–१७ स्थित घारिपाटमा रू १० करोडको लागलमा सङ्ग्रहालय निर्माण गरिएको हो । यसमा सरकारका तर्फबाट रू ३० लाख, जापान सरकारबाट रू एक करोड ४५ लाख ७८ हजार एक सय ११, कोरियाबाट रू छ लाख ६९ हजार तीन सय, चीनबाट रू तीन लाख ३६ हजार सात सय ५०, भारतबाट रू तीन लाख २० हजार र स्पेनबाट रू ३७ लाख सहयोग प्राप्त भएको थियो”, न्यौपानेले भन्नुभयो, “बाँकी रकम विभिन्न सङ्घसंस्था र व्यक्तिबाट पनि प्राप्त भएको छ ।” 

हिमाली क्षेत्रको कला संस्कृति र भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सङ्घले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले विगत पाँच वर्षदेखि यसै दिन अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आइएको निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा हिमाली क्षेत्रका जनजातिको दैनिकी, कला, संस्कृति र रीतिरिवाजलगायतको जानकारी समेटिने गरिएको छ । 

सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेड्सीबाट ल्याइएको चट्टानसमेत पर्यटकको आकर्षण बनेको न्यौपानेको भनाइ थियो । उहाँका अनुसार एशियाकै नमूनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायत विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री पनि राखिएका छन् ।

पर्यटक लक्षित लगानी बढिरहेको अवस्थामा पर्यटकको सङ्ख्या वृद्धिका साथै उनीहरूको बसाई लम्ब्याउनेतर्फ सबैले ध्यान दिनुपर्ने पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउनुभयो । पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यहाँका पर्यटक व्यवसायी धर्म पन्थीले पोखरामा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक भित्र्याउन सरकारले अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिन पहल गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने भएकाले सरकारले नेपालमा विदेशी पर्यटन भित्र्याउन र यहाँ बसाइ लम्बाउनतर्फ विशेष भूमिका खेल्नुपर्नेमा उहाँको भनाइ थियो ।