बेनी — मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उहाँ राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उहाँ अहिले भने आरनको काममा व्यस्त हुनुहुन्छ ।
गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उहाँले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउनुहुन्छ । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उहाँको दैनिकी हो ।
विसं २०७५ देखि नै पार्टी राजनीतिसँगसँगै आरन उद्योगमा समेत उहाँले आफैँ काम गर्न थाल्नुभएको थियो । करिब एक रोपनी जग्गामा मासिक रु सात हजार शुल्क तिर्ने गरी भाडामा लिनुभएका उहाँले आरन उद्योगसँगसँगै सामग्री बिक्रीकक्षसमेत सञ्चालन गर्नुभएको छ ।
केही वर्षअघिसम्म पार्टीको राजनीतिक गतिविधिमा सक्रिय हुने उहाँ अहिले आफ्नै पौरखको पेसामा फर्कनुभएको छ । ‘‘हरेक दिन आरनकै काम गर्नेमा मेरो समय खर्चिएको छु, कहिलेकाहीँ पार्टीको बैठक, भेला, प्रशिक्षणहरूमा भाग लिनुपर्दा मात्रै यहाँ आउन सक्दिनँ, पार्टीको नेतृत्व पनि अधिवेशनबाट हस्तान्तरण गर्ने योजनामा छु”, उहाँले भन्नुभयो ।
जिल्लामा पार्टी सङ्गठनको आकार ठूलो नहुँदा राजनीतिक गतिविधिसमेत कम हुने र घरपरिवारको जीविकोपार्जनका लागि पनि अन्य स्रोत नभएपछि विश्वकर्माले आरन उद्योगलाई पेसा–व्यवसायको रूपमा रोज्नुभएको थियो । सङ्घीयता नआउँदै जिल्लास्तरमा राजनीतिक दलका नेताहरू बैठक, अन्तक्र्रिया, सभा, समारोह, योजना, अनुगमनलगायतको क्षेत्रमा समेत व्यस्त बन्ने गरेको भए पनि स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जिल्लास्तरीय नेताहरूको भूमिका खुम्चिएको छ ।
पार्टी कामबाहेक अन्य समय फुर्सदिलो हुने भएकाले आफूले आरन उद्योग खोलेको नेता विश्वकर्मा बताउनुभयो । सुरुआतमा रु तीन लाख लगानीबाट आरन सञ्चालन गर्नुभएका विश्वकर्माले परम्परागत आरनलाई आधुनिकीकरणसमेत गर्नुभएको छ । पहिले फलाम काट्ने, जोड्ने र धार लगाउने सबै काम हातले नै गर्नुपर्ने भए पनि अहिले भने फलाम काट्ने, जोड्ने र धार लगाउन मेसिनको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
विश्वकर्माको आरन उद्योगलाई मालिका गाउँपालिकाले परम्परागत आरन आधुनिकीकरण गर्ने कार्यक्रमअन्तर्गत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामग्री निर्माण हुने गरेको छ । उद्योगमा आफूसँगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताउनुभयो । एक्लैले सामग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
‘‘राजनीति सेवा हो, घरिवार चलाउन त पेसा अँगाल्नै पर्यो, आफूले गरेको पेसाले पुख्र्यौली पेसाको संरक्षण र कृषि उत्पादनमा टेवा पुर्याओस् भन्ने चाहनाले आरन खोलेको हुँ”, उहाँले भन्नुभयो । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको उहाँले बताउनुभयो । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुवा–आमा, दुई छोरा र श्रीमतीसहित छ जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।
आरनमा आवश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामग्री र औजारको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामग्रीको मूल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाइएको सामग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मूल्यका सामग्रीसँग प्रतिस्पर्धा गर्न कठिनाइ हुने गरेको उहाँको अनुभव छ ।
परम्परागत सीपको उपयोग हुने आरन पेसा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले अरु पेसा व्यवसायको विकल्प हुँदाहुँदै आरनमा लागेको विश्वकर्माले बताउनुभयो । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ वर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिनुभएका उहाँले सात वर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हाल्नुभएको छ । नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रूपमा परिचित हुनुहुन्छ ।