कास्की — नेपाल कम्युनिस्ट पार्टी एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि भोलि बिहीबार बिहान मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले दिनुभएको जानकारी अनुसार यसअघि आज साँझ मतदान हुने कार्यतालिका रहे पनि दिनभरको वर्षाका कारण मतदानको कार्यतालिका बिहीबारलाई सार्नुपरेको हो ।

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी रहेका छन् । एमाले गण्डकी प्रदेशमा अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबिच प्रतिस्पर्धा हुँदैछ । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।