विराटनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ । अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै अध्यक्षमा खतिवडा विजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित हुनुभएका खतिवडाले ५ सय १२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४ सय ३० मत प्राप्त गर्नुभएको छ । ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहुन्छ । ९९७ प्रतिनिधि रहेको प्रदेश कमिटीको निर्वाचनमा ९७७ जनाले मतदान गरेका थिए । नयाँ नेतृत्व चयनमा अध्यक्ष पदमा निर्वाचित खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित गरिनुभएका उम्मेदवार हुनुहुन्छ ।

यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनुभएको छ । सबैजना खतिवडाकै प्यानलबाट विजयी हुनुभएको हो ।