मोरङ — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९ सय ७७ मत खसेको छ । निर्वाचन समितिका अनुसार गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गरिने भएको हो ।
गए राति १० बजेबाट सुरु भएको मतदानमा प्रदेशका १४ जिल्लाबाट ९ सय ९७ प्रतिनिधि रहेका थिए । अधिवेशनबाट अध्यक्ष पदका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा रहेको छ ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा एकल उम्मेदवारी परेपछि टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । उनीसँगै अन्य ४९ जना पदाधिकारी सदस्यमा निर्विरोध चयन भएका हुन् ।

यस्तैगरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।