फाइल तस्वीर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१ दशमलव ७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यस बापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । तत्कालिन कोषाधयक्ष थापा हाल सदस्य सचिव रहेका छन् ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।