तस्वीरः सम्मानित स्रष्ठाहरु ।

नर्थक्यारोलिना — अमेरिकामा नेपाली साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकास्थित नर्थक्यारोलिना साहित्य समाजले ‘मासिक घर—दैलो साहित्यिक कार्यक्रम’को आयोजना गरेको हो ।

‘मासिक घर—दैलो साहित्यिक कार्यक्रम’ मा कवयत्रीहरु प्रभा पोखरेल, नम्रता गुरागाईं, लेखनाथ दुलाल, गीता बस्नेतलगायतका कवि कवयत्रीहरुले कविता वाचन गर्नुभएको थियो ।

कवि डा. ऋृषि बस्ताकोटीले आयोजना र सञ्चालन गर्नु भएको ‘मासिक घर—दैलो साहित्य कार्यक्रम’ मा कार्यक्रममा चर्चित आख्यान कृति ‘योगमाया’ की लेखिका डा.निलम कार्की, त्रिभूवन विश्वविद्यालयका पूर्वप्राध्यपक तथा ‘आमा’ नामक गीतका सर्जक तथा साहित्यकार डा.अच्युत शर्मा, चन्द्र गिरीलगायतलाई सम्मान गरिएको थियो ।

साहित्यकार एवम् कीर्ति समीक्षक ईश्वर देवकोटा, साहित्यकार स्व.लैनसिंह वाङ्देलका कीर्तिमा विद्यावारिधी गर्नुभएका भारतको दार्जलिङ आउनुभएका डा.सुरेन्द्र प्रधान श्रेष्ठलगायत साहित्यिक श्रष्ठाहरुको उपस्थिति थियो ।

‘कविताको रचना प्रक्रिया र शिल्प’का विषयमा प्रविधिको प्रचुर प्रयोर गर्दै भर्चुयल माध्यमको सहायतामा नेपालबाट प्राध्यापक डाक्टर ताराकान्त पाण्डेले केही कविताहरुको समीक्षात्मक टिप्पणी गर्नुहुँदै साहित्यकार स्रष्टाहरुलाई प्रशिक्षण समेत गर्नुभएको थियो ।

दुई दशकदेखि अमेरिकाको नर्थक्यारोलिनामा बस्दै आउनुभएका साहित्य प्रेमी स्रष्ठा नरेन्द्र न्यौपानेको विशेष पहलमा विभिन्न पेशा व्यवसायमा आवद्ध भै प्रवासमा रहेर पनि नेपाली साहित्यको उन्नयनका खातिर सन् २००२ मा नर्थक्यारोलिना साहित्य समाज गठन गरिएको थियो । यही साहित्यिक समाजको अनुशरण गर्दै अमेरिकाका विभिन्न क्षेत्रमा रहनुभएका साहित्य प्रेमी नेपालीहरुले नेपाली साहित्यको संरक्षण र जगेर्ना गर्न यस किसिमका साहित्यिक समाजहरु गठन गरिएका छन् ।

नर्थक्यारोलिनामा रहनुभएका साहित्यप्रेमी स्रष्ठाहरुले सन् २०१२ देखि प्रत्येक महिना ‘मासिक घर—दैलो साहित्य कार्यक्रम’ निरन्तरता दिइदै आएका कार्यक्रम सञ्चालक डा. बस्ताकोटीले बताउनुभयो ।