सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज शनिबार अपरान्ह १२ बजेबाट मतदान सुरु हुने भएको हो । कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये तीन जना कालिकोट जिल्लाका छन् ।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलको निर्देशन पालना नभएको कर्णालीमा नेतृत्वका लागि हुने निर्वाचन रोचक बन्ने देखिएको छ ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ । कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

एमाले स्रोतका अनुसार कालिकोटका मीनबहादुर शाहीलाई महासचिव शङ्कर पोखरेलले ‘ग्राउन्ड’बाट तपाईको राम्रो सुझाव आएन गुलावजीको टिममा मिलेर जानुस् भनेर सुझाव दिएका थिए । तर, शाहीले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको जोडबलमा निर्वाचन लड्ने तयारी गरेको ती नेताको दाबी छ ।