सामुहिक तस्वीरमा नवनिर्वाचित अध्यक्ष कैलाश ढुङ्गेल,उपाध्यक्ष पदमा दावादोर्जे लामा सहित।


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई दुई सय ५७ मतले पछि पार्दै ढुङ्गेल बागमती प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित ढुङ्गेल छ सय ९६ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी दाहालले चारसय ३९ मत ल्याउनुभएको छ ।
यसैगरी उपाध्यक्ष पदमा दावादोर्जे लामा विजयी हुनुभएको छ भने प्रदेश कमिटीको सचिवमा नवराज सिलवाल एक मतले विजयी हुनुभभएको छ। सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत ल्याउनुभएकाृ थियो ।

यसैगरी खुला उपसचिव पदमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा निर्वाचित हुनुभएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा एक हजार एक सय ३५ मत खसेको थियो ।

नवनिर्वाचित ढुङ्गेल, उपाध्यक्ष लामा, सचिव सिलवाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु हुनुहुन्छ ।