प्रतिकात्मक तस्वीर

सिन्धुली– सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो ।

भ्यानमा सवार अधिकाश शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द थापा, सोही स्थानका भुवन थापा, वडा नम्बर ४ की बबिता देवकोटा, कमलामाई– ५ की कमला घिमिरे, वडा नम्बर ६ का निरकुमार चालिसे, विष्णु ढकाल, उनका ११ वर्षीय छोरा निश्चल ढकाल तथा सरोज थापा रहेका छन् ।

यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका– १० का राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० की गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको छ । भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।