फाइल तस्वीर


काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कोशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएसँगै दाहाल र ढुङ्गेलबीच आगामी नेतृत्वका लागि प्रतिस्पर्धा हुनेभएको हो ।

आज बिहीबारका लागि तय भएको निर्वाचन तालिका नै संशोधन गरी भोलि शुक्रबारका लागि निर्वाचन गर्ने मिति तोकिएको छ । अध्यक्षका प्रत्याहीहरुबीच सहमति कायम गरेर सहमतिमा नेतृत्व चयन गर्नका लागि निर्वाचनको मिति नै एक दिन पर धकेलिएको थियो । अध्यक्षका आकाङ्क्षी बुढाथोकी र श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएपछि दाहाल र ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो । वर्तमान अध्यक्ष केशव पाण्डेले समेत अध्यक्ष पदमा उम्मेदवारी दिनुभएता पनि उहाँले आज बिहान ढुङ्गेललाई समर्थन गर्दै आफ्नो मनोनयन फिर्ता लिनुभएको थियो ।

आजै बेलुका अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिनुभएका केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले अध्यक्षका प्रत्यासी दाहाललाई समर्थन गर्नुहुने बुझिएको छ । अध्यक्षका दुवै उम्मेदवारबीच सहमति गराएर नेतृत्वलाई निर्विरोध गराउने पक्षमा नेताहरुले अझै आन्तरिक रुपमा सक्रियता बढाइरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र ढुङ्गेललाई बागमती प्रदेशको अध्यक्ष बनाउने नेताहरुको चाहना देखिन्छ । पार्टी केन्द्रीय सदस्य समेत रहनुभएका दाहाल पनि बागमती प्रदेशमा राम्रो नेताको रुपमा चिनिनुहुन्छ । अहिलेसम्मको स्थितिहेर्दा दाहाल र ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।