फाइल तस्वीर

ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमति जुट्न नसकेपछि अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचन स्थल जाँदै हुनुहुन्छ । निर्वाचन रोकेर सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष ओलीले आफ्नो सक्रियता बढाउनु भएको छ ।

आज बिहीबार बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पछि मतदानको कार्यतालिका नै परिवर्तन गरी उम्मेदवारहरुलाई आफ्नो मनोनयन फिर्ता लिन अनुरोध गर्दै मतदानको समय पर धकेलिएको छ । अध्यक्षमण्डलका सदस्य एवम् पार्टी स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङका अनुसार सहमति गर्नकै लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । भोलि शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने समयतालिका प्रकाशित गरिएको छ । आज राती ९ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिने भएको छ ।

निर्वाचनको तालिका नै संशोधन गरिएकाले उम्मेदवारी दिएका मध्ये तीन सय जनाले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन कमिटीले यस अघि नै जानकारी गराएको थियो ।

बागमती प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिनेहरुमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुङ्गेल, काठमाडौंका सानु श्रेष्ठ र केदारबहादुर बुढाथोकी हुनुहुन्छ भने केशव पाण्डेले आजै बिहान आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

पाटी अध्यक्ष केपी शर्मा ओलीको समर्थन रामेछापका कैलाश ढुङ्गेलप्रति छ । ओलीले ढुङ्गेललाई प्रदेश कमिटीको नेतृत्वमा राख्न चाहनुभएकोले निर्वाचनलाई रोकेर सहमति जुटाएर नेतृत्व चयन गर्न च्यासल जान लाग्नुभएको स्रोतको बनाइ छ । नेताहरुले बागमती प्रदेशको नेतृत्व सहमतिमा चयन गर्न छलफल गरिरहेका छन् । यद्यपि, नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएपछि अध्यक्ष ओलीले निर्वाचनलाई रोकेर सहमति जुटाउन उम्मेदवारी दिएका नेताहरुलाई आफ्नो उम्मेदवारी र्फिता लिन दवाव दिनुहुने देखिन्छ ।

एमाले बागमती प्रदेशको पहिलो अधिवेशन असोज ८ गते सुरुभएको थियो । असोज ९ गते प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सकेर नेतृत्व चयनका लागि पार्टी कार्यालय च्यासलमा निर्वाचनको कार्यक्रम सञ्चालन गरिएको थियो । बागमती प्रदेश अधिवेशनमा एक हजार एक सय ७४ मतदाता रहेका छन् । निर्वाचन कमिटीले अहिलेसम्म अन्तिम नामावली सार्वजनिक गरेको छैन ।

बुधबार प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म चुनाव हुने जानकारी दिनुभएको थियो ।

अध्यक्ष पदका लागि चार जनासहित उपाध्यक्ष, सचिव, उपसचिव लगायतका पदमा पनि धेरैको उम्मेदवारी परेको छ । तेह्रवटा जिल्ला रहेको बागमती प्रदेश कमिटीमा प्रत्यक्ष जिल्लाबाट २०/२० जना सदस्य रहने व्यवस्था छ ।

सबै पदमा सहमति जुटाउने र निर्वाचन नगर्ने पक्षमा नेताहरुले गृहकार्य गरिरहेका छन् । तर यसका लागि लामो समयदेखिको सहमति जुटाउने प्रयास विफल हुँदै आएको छ । नेताहरुको प्रयास विफल भएकै कारण अध्यक्ष ओली च्यासल पुगेर सहमतिमा नेतृत्व चयन गर्न नेताहरुलाई मनथर पार्नुहुने बताइएको छ ।

संशोधित निर्वाचन तालिका

u