वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु‌ गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास विफल भएपछि बन्दसत्र ढिलो सुरुभएको हो ।

एमालेले प्रदेशस्तरीय कमिटीहरुको अधिवेशन गर्दै आएको छ । अहिलेसम्म तीनवटा प्रदेशको अधिवेशन भएका छन् । यी तीन वटै प्रदेश कमिटीको नेतृत्वका लागि सहमति जुट्न सकेन । लुम्बिनी प्रदेशमा पनि निर्वाचनमार्फत नेतृत्व चयन गरेको थियो ।

असोज ८ गते सोमबार सुरुभएको बागमती प्रदेशको अधिवेशन ९ गते सम्पन्न भनिता पनि बिहीबारसम्म नेतृत्व चयन हुन सकेन । नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि बागमतीमा अहिले साँझसम्म निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन । दुई सय ४० सदस्य रहेको बागमती प्रदेश कमिटीमा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन कमिटीका अनुसार अहिलेसम्म तीय सयजनाले उम्मेदवारी फिर्ता लिएका छन् । यद्यपि, पाँच जना पदाधिकारीका लागि निर्वाचन हुने देखिएको छ ।

यसैगरी कर्णाली प्रदेश कमिटीको अवस्था पनि त्यस्तै छ । नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेतृत्व सर्वसम्मत गराउन लागि परेका पार्टी महासचिव शङ्कर पोखरेलको प्रयास विफत भएपछि कर्णालीमा पनि निर्वाचन हुने अवस्था सिर्जना भएको हो । सहमति जुटाउन आफु असफल भएपछि महासचिव पोखरेलले प्रदेशका नेताहरुलाई सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर राजधानी फर्किनुभएको छ ।

यद्यपि कर्णालीमा सहमति‌अनुसार अध्यक्ष चुनिने सम्भावना नरहेको नेताहरुको भनाइछ । एमाले विभाजन पछि पनि सो पार्टीभित्र जवरर्दस्त रुपमा गुट र उपगुटहरु बाहिर सतहमा देखिन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत प्रदेश कमिटीहरुको नेतृत्व सहमतिमा गर्न निर्देशन दिनुभएता पनि त्यो निर्देशनले कुनै अर्थ राखेन । यसको अर्थ एमालेभित्र चरम गुटबन्दी मौलाएको स्वयम् एमाले नेताहरुको भनाइ छ ।

कर्णाली प्रदेशमा यामलाल कँडेलको गुटबाट गुलावजङ्ग शाह र अर्का नेताद्वय गोरख बोगटी–विनोदकुमार शाह गुटबाट मीनबहादुर शाहीले उम्मेदवारी दिन तयारी भएको एक नेताले बताएका छन् ।

यस्तैगरी कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही पनि प्रदेश नेतृत्वको आकाङ्क्षी देखिनुभएको छ । यद्यपि शाहीले भने औपचारिक रुपमा अहिलेसम्म उम्मेदवारी दिनेबारे खुल्नुभएको छ । यी तीन जना नेताहरुले बन्दसत्र नसकिकन उम्मेदवारी दिने घोषणा गर्न सक्नुभएको छैन ।

हिजो अधिवेशन उद्घाटन गर्न सुर्खेत पुग्नुभएका पार्टी अध्यक्ष ओलीले समेत सहमतिका आधारमा अधिवेशन गर्न र प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिनुभएको थियो । एमालेभित्र कार्यकर्ताहरुमा नेतृत्व तहप्रति असन्तुष्टि पैदा भएको प्रदेश कमिटीका अधिवेशनहरुबाट प्रष्ट भएको छ ।