फाइल तस्वीर
बेइजिङ — चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो ।

करिब तीन महिनापछि उहाँ स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुग्नुभएको थियो । उहाँलाई बुधबार अमेरिकी राजदूत र एक वरिष्ठ सैन्य अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि उहाँ अमेरिकी सैन्य अखडामा पुग्नुभएको छ । अमेरिका–चीन सहकार्यको दुर्लभ उदाहरण दिँदै बेइजिङले बिहीबार सहयोगको प्रस्ताव गरेको पुष्टि गरेको हो ।

“उत्तर कोरिया र अमेरिकी पक्षको अनुरोधमा चीनले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गरेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार ‘किङको रिहाईका लागि पारवहन सहजीकरण गर्न चीनले गरेको सहयोगका लागि’ धन्यवाद दिनुभएको छ ।

लामो समयदेखि चीन उत्तर कोरियाको सन्धि सहयोगी र मुख्य आर्थिक हितैषी हो । तर चीनले किङकोे रिहाईका लागि उत्तर कोरियासँग मध्यस्थता नगरेको र संयुक्त राज्य अमेरिकाले प्योङयाङसँग युद्ध बन्दीको ‘पूर्ण समाप्ति’ भएको ठहर नगरेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताउनुभयो ।