उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि थप एक जनाको उम्मेदावरी दर्ताभए छ । अन्तिम समयमा केशवराज पाण्डेको उम्मेदवारी दर्ताभएसँगै अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको हो ।

निर्वाचन कमिटीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, केशरबहादुर बुढाथोकी,सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश कमिटीको उपाध्यक्ष पदमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलासहित पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।


यसैगरी सचिव पदका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । सचिव पदका आकाङ्क्षी भएर मनोनयन दर्ता गराउनेमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा.रामकुमारी अधिकारी हुनुहुन्छ भने खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसरी उपसचिवमा उम्मेदवारी दिनुहुनेहरुमा खड्गबहादुर खत्री, गङ्गादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकाल रहनुभएको निर्वाचन कमिटीले जनाएको छ ।

सोमबारदेखि सुरुभएको जारी अधिवेशनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय बागमती प्रदेश कमिटी गठन गर्दैछ । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय भएको छ ।