फाइल तस्वीर


काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वका लागि सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीे सहित चार जनाको उम्मेदवारी दर्ताभएको छ । केही समय अघि अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएपछि बागमती प्रदेश कमिटीको नेतृत्वप्रति देखिएको आकाङ्क्षाले एमाले भित्रको गुटबन्दी बढेको विश्लेषण गर्न थालिएको छ । निर्वाचन कमिटीले जनाए अनुसार आज बुधबार ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी दर्ताभएको छ ।

यस्तैगरी उपाध्यक्षमा पाँचजनाले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षका लागि उम्मेदवारी दिनुहुनेमा नारायणप्रसाद खतिवडा, ईश्वरचन्द्र पोखरेल दावादार्जे लामा, सुवासचन्द्र ठकुरी, र राजेन्द्र राजथला हुनुहुन्छ । सचिवमा नवराज सिलवाल, हस्त पण्डित, रत्न गुरुङ र राजकुमार अधिकारीको उम्मेदवारी दर्ता भएको निर्वाचन कमिटीले जनाएको छ ।

यस्तैगरी प्रदेश कमिटीको उपसचिवका लागि डबल पाण्डे, खड्गबहादुर खत्री, टासी लामा, गङ्गादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरी थापा , ठाकुरप्रसाद गजुरेल र रमेश महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको बताइएको छ । बागमती प्रदेश कमिटीमा पाँच पदाधिकारी सहित २४० सदस्य रहने एमालेले जनाएको छ ।

उम्मेदवारी मनोनयनको साँझ ७ बजे सम्मलाई तोकिएको भने मतदान भोलि बिहीबार बिहान ८ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन कमिटीले जनाएको छ । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ । जसका लागि ४० वटा विद्युतीय मेसिनहरुको व्यवस्था गरिएको छ ।