फाइल तस्वीर: अध्यक्षका प्रत्यासी कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल ।


ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको आगामी नेतृत्वका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि बागमती प्रदेशका पूर्वअर्थमन्त्री एवम् रामेछापका नेता कैशाल ढुङ्गेल र मकवानपुरका नेता कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशहरुको नेतृत्व सहमतिमा टुङ्ग्याउन निर्देशन दिनुभएता पनि पार्टी भित्र मौलाउँदो गुटका कारण प्रदेश कमिटीको नेतृत्वका आकाङ्क्षीहरुले उम्मेदवारी दिनुभएको छ । एमालेले यस अघि लुम्बिनी प्रदेश कमिटीमा पनि सहमतिमा नेतृत्व चयन गर्न गरिएको प्रयास विफल भएपछि निर्वाचन भएको थियो ।

पार्टी अध्यक्ष ओलीले पार्टी कमिटीको नेतृत्व सर्वसम्मत नगर्दा जनतामा नकारात्मक धारणा जाने भन्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नेताहरुलाई निर्देशन दिनुभएको थियो । तर, अध्यक्ष ओलीको निर्देशन विपरित प्रदेश कमिटीहरुको नेतृत्वका लागि निर्वाचन हुने देखिएको छ ।

यसै अनुरुप बागमती प्रदेश कमिटीको आगामी नेतृत्व पनि निर्वाचनबाट चयन हुने देखिएको छ । नेताहरुले सहमतिको प्रयास गरे पनि बागमती प्रदेश कमिटीको अध्यक्षका लागि भोलि बिहीबार निर्वाचन हुने भएको हो । अध्यक्षका प्रत्यासी कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालको उम्मेदवारी परेकाले भोलि बिहीबार बिहान ८ बजेदेखि मतदान गराउने तयारी गरिएको छ ।

ढुङ्गेलको प्रस्तावकमा रामेछाप जिल्ला कमिटीका अध्यक्ष आनन्दकुमार श्रेष्ठ प्रस्तावक र वचन देउजा समर्थक रहनुभएको छ भने दाहालको प्रस्तावकमा हिदम लामा र देवकृष्ण विकल रहनुभएको छ ।

पूर्वमन्त्री ढुङ्गेल पार्टी अध्यक्ष ओली निकट मानिनुहुन्छ । अर्का नेता दाहाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । नेता ढुङ्गेल गत मङसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काङग्रेसका पूर्णबहादुर तामाङ पराजित हुनुभएको थियो । दाहाल पनि २०४८ सालदेखि निरन्तर निर्वाचन जनप्रतिनिधि हुनुहुन्थ्यो । पछिल्लो निर्वाचनमा उहाँले उम्मेदवारी दिनुभएन ।