फाइल तस्वीर: नेपाली खेलाडी


काठमाडौं — नेपालमा जारी साफ यू—१९ फुटबल च्याम्पियन प्रतियोगिताको फाइनलमा पाकिस्तान प्रवेश गरेको छ । आज बुधबार भएको खेलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा हराउँदै फाइनलमा पुगेको हो ।

लामो समयको प्रतिवन्ध फुकुवा पछि फुटबलमा फर्किएको पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको पहिलो सहभागितामै फाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरको पहिलो सेटमा दुवै टिमबाट पाँच/पाँच गोल गरेपछि टाइब्रेकर लम्बिन पुगेको थियो । भुटानका लागि छैटौं पेनाल्टी हानेका सल्जिम पेल्जाङले प्रहार गरेको बललाई पाकिस्तानी गोलकिपर साहिल गुलले पञ्च गरेर विफल पारिदिएपछि भुटानको फाइनल यात्रामा पूर्णबिराम लाग्न पुग्यो । गोलकिपर गुलले उत्कृष्ठ बचाउ गरेका कारण पाकिस्तान पहिलो सहभागितामै फाइनलमा पुग्न सफल भयो । पाकिस्तानको यो साफ च्याम्पियनसिप कुनै पनि उमेर समूहको पहिलो साफ प्रतियोगिता हो ।

अब पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्ने छ । नेपाल र भारतबीचको सेमिफाइनल खेल साढे ५ बजे सुरु हुँदैछ ।