तस्वीर : एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनको झलक


सुर्खेत — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको छ । एमालेले देशका सबै सातवटै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन गरी पार्टी सङ्गठन विस्तारमा जोड दिएको छ ।

आज बुधबारदेखि सुरुभएको कर्णाली प्रदेश अधिवेशनले उक्त प्रदेश कमिटीका लागि नयाँ नेतृत्व चयन गर्ने छ । दिउँसो १ बजे अधिवेशन उद्घाटन गर्ने भनिएता पनि पार्टी अध्यक्ष ओली समयमा पुग्न नसक्दा अधिवेशन ३ बजेमात्रै उद्घाटन भएको थियो ।

अधिवेशनमा १० जिल्ला र मोर्चा सङ्गठनबाट ६०४ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष प्रतिनिधिहरु रहेको आयोजक कमिटीले बताएको छ । एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहने बताइएको छ ।

दुई दिनसम्म चल्ने उक्त अधिवेशनमा पार्टीको राजनीतिक, साङ्गठनिकका साथै आर्थिक प्रतिवेदन पारित गर्नेछ गर्ने छ । अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । एमालेले यस अघि लुम्बिनी र बागमती प्रदेशमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।

दुई दिनसम्म हुने अधिवेशनलाई महासचिव शङ्कर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको आयोजनले बताएका छन् ।