फाइल तस्वीर

येरेभान — नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थानहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला सो घटना भएको हो ।

घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ता मारिएका आशङ्का गरिएको छ ।

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन् । अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।