फाइल तस्वीर
काठमाडौं — जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ । आज सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको हो ।

पहिलो खेलमा पाकिस्तानसँग १—० गोलले पराजित भएपछि आजको खेल जित्नै पर्ने दवावमा रहेको नेपालले माल्दिभ्सलाई हराएपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले पाकिस्तानसँगको खेलको तुलनामा माल्दिभ्ससँगको खेलमा नेपाली टिमले उत्कृष्ठ प्रदर्शन गरेकोकोले नतिजा आफ्नो पक्षमा आएको बताउँदै सुखी व्यक्त गर्नुभएको छ ।

प्रशिक्षक श्रेष्ठले ‘आजको खेलमा हामीलाई जित्नै पर्ने दवाब थियो । खेलाडीहरुले गरेको मिहिनेनतका कारण आज हामीले जित्यौं’ भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपाललाई हराएर सुखद् सुरुवात गरेको पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिन पुगेको थियो ।

आजको खेलको ३३ औं मिनेटमा नेपालका सुजन डङ्गोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन एक आपसमा लड्न पुगेका थिए । त्यसपछि हसन सुजनप्रति आक्रामक भए । विवाद बढ्न थालेपछि रेफ्रिले दुवै जनालाई रातो कार्ड देखाएर खेल मैदानबाट बाहिर निकालिदिएपछि दश खेलाडीमा सिमित दुवै टिमका खेलाडीहरु लय समात्दै खेलमा फकिएर ।

घरेलु टिम नेपालप्रति सुरुदेखि नै माल्दिभ्सका खेलाडीहरु अल्लि आक्रामक देखिएका थिए । नेपाल र पाकिस्तान आफ्नो समूहबाट सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालसँगको पराजयसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।