हाङ्जाउ — १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ :१५ बजे हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो ।

यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। पानले भने पहिलो खेलमा बङ्गलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह डी मा रहेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ । उक्त समूहमा पान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बङ्गलादेश अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बङ्गलादेशसित खेल्ने छ ।

लिम्बूको घुँडाको शल्यक्रिया सफल

यसैबीच भियतनामविरुद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ । उनको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो ।

भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५औँ मिनेटमा घाइते भएकी थिइन् । उनको घुँडाको मांसपेसी च्यातिएको थियो । लिम्बूले १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन् ।