प्रतिकात्मक तस्वीर

काठमाडौँ — काठमाडौंको माछापोखरीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ काठमाडौं महानगरपालिका १६ माछापोखरीमा बा।२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहोराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बसले ठक्कर दिएपछि स्कुटर चालक फरार भएकाले स्कुटरको नम्बर खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा परेको स्कुटर चालक किन भागेका हुन् भनी खुल्न सकेको छैन । फरार स्कुटर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।