तस्वीरः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा छलफल गर्न आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासङ्घले अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि बोलाइएको वार्ता अस्वीकार गर्दै नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरु अनुपस्थित भएका हुन् ।

शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी आह्वान गरिए पनि मन्त्रालयको एकल प्रयत्नमा विधेयकमा परिमार्जन सम्भव नभएको भन्दै महासङ्घका प्रतिनिधिहरु अनुपस्थित भएका हुन् । महासङ्घले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । त्यसका लागि जिल्ला–जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासङ्घले जनाएको छ ।


महासङ्घले आफ्ना सुझावहरु समावेश नगरी संसद्मा विधेयक पेस गरिएकोमा विधेयकप्रति आपत्ति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।


सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भए पनि महासङ्घले शक्षामन्त्रीसँग वार्ता गर्न अस्वीकार गरेको हो । यसैबीच मन्त्री राईले भने आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ । उहाँले शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने बताउनुभएको हो ।