तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताउनुभयो ।

प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै मुख्यमन्त्री पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिनुभयो । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा आफूले निरन्तर प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताउँदै उहाँले यस सम्बन्धमा चाँडै नै सकारात्मक सङ्केत आउने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको बताउँदै उहाँले यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ राख्नुभयो । 

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले पर्यटनमा गुणस्तरीयतालाई जोड दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनामा समेटिनुपर्ने विषयलाई जानकारी गराउन उहाँले सबैसँग आग्रह गर्नुभयो । 

आयोगले अनलाइनबाट सुझाव प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाएको बताउँदै उहाँले प्राप्त सुझावका आधारमा पटक–पटक छलफल गरी पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिइने उहाँको भनाइ छ । साहसिक पर्यटनको विकासका साथै सडक, बाटोघाटो तथा पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले दिगो पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा जनशक्तिको अभाव समस्या रहेको बताउँदै उहाँले पोखरा आउने बाटोघाटोलगायतका कारण पनि यहाँको पर्यटन प्रभावित बनेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोभिड, आर्थिक मन्दीलगायतका कारण प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । पर्यटकको आगमन वृद्धि गर्नु जरुरी रहेको बताउँदै उहाँले भारतीय पाँच सय रुपैयाँ दरको नोट सटही नहुँदा भारतीय पर्यटकको आगमन प्रभावित बनेको बताउनुभयो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुपर्ने बताउँदैै उहाँले नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)का अध्यक्ष उदय सुवेदी, पर्यटन मजदुर शालिकराम तिमल्सिना, लक्ष्मण सुवेदी, वासु त्रिपाठी, कमल पौडेल (अथक) लगायतले सरकारको अनुभूति हुने गरी पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो । यसका लागि सङ्घीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उहाँको भनाइ छ ।

	संविधानको भावनलाई जनजीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

	“लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्ति, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिप्रति उच्च सम्मानसहित स्मरण गर्दछु”, सन्देशमा उल्लेख छ ।

	नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सन्देशमा संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्नाका साथै जनता राज्यशक्तिको स्रोत भएको उल्लेख गर्नुभयो । संविधानले निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उहाँको भनाइ छ ।