फाइल तस्वीर

विराटनगर — जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरका केही निश्चित क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले विराटनगरका केही ठाउँलाई सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखेर विरोध, धर्ना, जुलुस आयोजना गर्न नपाइने गरी आज असोज १ गते सोमबार बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकेको जानकारी गराउनुभएको हो ।

जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

प्रदेशसभा बैठक कक्षबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले नेतृत्वको सरकार फर्किएसँगै कोशी प्रदेशको राजधानी विराटनगरमा फेरि आन्दोलन बढ्ने भएको हो।