बाँके — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित सडकमा बम विस्फोट भएको छ । बाँकेको सोनारी– ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित राजमार्गमा भएको उक्त बम विस्फोट भएको हो ।
द्वन्द्वकालीन मानिएको उक्त बम विस्फोटबाट राजमार्गमा ठूलो खाड परेको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको र द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बस्तीभन्दा परको खाली ठाउँमा रातको समयमा विस्फोट भएकाले अन्य क्षति भएको छैन । उक्त बम विस्फोट भएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरेको थियो । अहिले खाडल परेको उक्त स्थानमा सडक विभागको टोली गएर मर्मत गरेपछि दुईतर्फी यातायात सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।