प्रतिकात्मक तस्वीर
गोरखा — गोरखामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठका अनुसार अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो ।

उहाँको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस