फाइल तस्वीरः अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की ।


वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । दुई देशका राष्ट्रप्रमुखहरुबीच एक साता पछि अर्थात् आगामी बिहीबार वासिङटनमा भेटवार्ता हुनेभएको हो ।

उहाँहरुबीच युक्रेन र रुसबीचको युद्धका बारेमा छलफल हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त भेटमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवम् सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नुहुनेछ । आर्थिक सहायता प्राप्तिका निम्ति उहाँले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् । विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गर्नुभएको थियो । यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै युक्रेनी समकक्षीसँग भेट्ने कार्यक्रम तय भएको छ ।