प्रतिकात्मक तस्वीर

काबुल —अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशी सहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थानका अनुसार इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम) ले आफ्ना ती कर्मचारीलाई मध्य अफगानिस्तानको घोर प्रान्तमा रहेको कार्यालयबाट पक्राउ गरेर राजधानी काबुल लगेको हो ।

आफ्ना कर्मचारीविरुद्ध लगाइएको अभियोग बारेमा हालसम्म कुनै जानकारी नभएको र त्यससम्बन्धमा कुनै टिप्पणी वा अनुमान गर्न नसकिने अन्तर्राष्ट्रिय समाचार संस्थानले आज एक विज्ञप्ति निकालेर भनेको छ ।

“यद्यपि हाम्रो सङ्गठन वा कुनै कर्मचारीविरुद्ध अभियोग लगाइएमा प्रस्तुत गरिएका प्रमाणको स्वतन्त्र रूपमा समीक्षा गर्नेछौँ । हामी स्थानीय संस्कृतिको सम्मान गर्छौँ । ” विज्ञप्तिमा भनिएको छ । तालिवान अधिकारीहरूले पनि गैससका कर्मचारीलाई हिरासतमा लिइएकोबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । 

सन्  १९९६ देखि अफगानिस्तानमा आँखा सेवा सञ्चालन गरेको आईएएमले स्वास्थ्यका अन्य विधा र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ । आईएएमको वेबसाइटमा संस्थालाई इशाईका मूल्यमान्यतामा आधारित भनिए पनि  यसले राजनीतिक वा धार्मिक विश्वासका आधारमा सहायता प्रदान नगर्ने स्पष्ट गरेको छ । 

अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि धेरै पश्चिमासहित अज्ञात सङ्ख्यामा विदेशीहरूलाई तालिवान अधिकारीहरूले हिरासतमा लिएका छन् । तालिबान शासकहरूले शरिया कानुन लादेर महिलाहरूलाई गैरसरकारी संस्था र संयुक्त राष्ट्रसङ्घका निकायमा काम गर्नबाट वञ्चितमात्र गरेका छैनन् अपितु किशोरी र महिलालाई स्कूल÷ विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएका छन् ।