काठमाडौँ — काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोधपुछको लागि घटनास्थलबाट तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो । राईको कपडा र जुत्तामा रगतको दाग फेला परेपछि उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित दिव्य दिव्य सः मिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । जसमा तीन जना एकै परिवारका रहेका छन् । हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी उनीहरुको शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सूक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।