फाइल तस्वीरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ।
झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन मेचीनगरले आज झापाको धुलाबारीमा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष लिङ्देनले तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दसैँ लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको उल्लेख गर्नुभयो ।
“तीज र दसैँ जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन् । पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ ।”
संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै नेता लिङ्देनले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराउनुभयो । दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको जिकिर गर्नुभयो ।
राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिक प्रसङ्गमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताउनुभयो । उहाँले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभएको थियो ।