फाइल तस्वीरः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।


काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामना दिदैं तीजलाई सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको हो ।

तीज एक सामाजिक–सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो ।

खानपिन तथा लवाइखुवाइको अनावश्यक तड्कभड्क देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।”

निरङ्कुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको भन्नुहुँदै गृहमन्त्री श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।