मोरङ — कोशी प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले चौंथो वार्षिक प्रतिवेदन आज शुक्रबार बुझाइएको हो ।

आयोगका अध्यक्ष भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम आव २०७९/८० भित्र सम्पादन गरिएका काम कारवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै प्रदेश सरकारसँग आयोगको काम कारवाहीलाई सहयोग पु¥याउन योग्य कर्मचारी छनोट र व्यवस्थापन गर्नका लागि नीतिगतरूपमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले आयोगले निष्पक्षरूपमा गरेको काम कारवाहीप्रति जनता र राज्यको विश्वास रहेको बताउँदै योग्य कर्मचारीको पदपूर्ति र व्यवस्थापनले स्थायी सरकारको स्वरूपमा बलियो जग निर्माण भएको धारणा राख्नुभयो ।

आयोगका अध्यक्ष भट्टराईले सूचना प्रविधि, मुद्रण, ओएमआर प्रविधिबाट परीक्षणलगायतका पूर्वाधार निर्माणलाई व्यवस्थित गर्नुका साथै अनलाइन दरखास्त प्रणालीको विकास गरिएको जानकारी दिनुभयो । आयोगले आव २०७९÷८० मा स्थानीय सरकारी सेवाका लागि २४ वटा विज्ञापनमार्फत चार सय ४० पदका लागि दुई सय ८४ पुरुष र एक सय  २५ महिला गरी चार सय नौ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस गरेको छ ।