काठमाडौँ — नेपाल शिक्षक महासङ्घले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ । महासङ्घले आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहित विपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।

महासङ्घले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना, बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवालमा ध्यान दिन नसकेको महासङ्घको आरोप छ ।

त्यस्तै, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासङ्घकी अध्यक्ष कमला तुलाधारले जानकारी दिनुभयो । उहाँले शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिँदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने तर्क गर्नुभयो ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगायतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने उहाँको माग छ । उहाँले सरकारले शिक्षकहरुले बेला–बेला गरेको आन्दोलनमा सहमति गरेको र उक्त सहमति कार्यान्वयन नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरु बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताउनुभयो ।