फाइल तस्वीर
जलेश्वर — कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवम् धार्मिक महत्व बोकेको ठाउँ हो ।
रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती छ । यहाँ विगतदेखि नै मेला लाग्ने गरेको छ । बुबाको मुख हेर्ने दिन तथा आमाको मुख हेर्ने दिनमा श्रद्धालु आउने गरेको स्थानीय शम्भु यादवले बताउनुभयो ।
आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका विभिन्न ठाउँबाट समेत यहाँ सर्वसाधारण आउने गरेको स्थानीय नथुनी यादवले बताउनुभयो । बुबा, आमा नभएकाहरुले अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएका छन् ।
रामायण कालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी वाण लागि मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएको बेला आफ्ना छोरा मरेको सुनेर अन्धाअन्धी पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ ।
अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित छ । यस स्थानमा मन्दिर बनाइएको छ । यसको संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुस घर–घरमा भित्र्याएर मनाउँदैछन् । ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको प्रचलन छ ।
बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने धार्मिक विश्वास छ ।