काठमाडौँ — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कारोबार र सेवा क्षेत्र विस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । स्थापनाको ६१ औं वार्षिकोत्सव दिवसमा आज विशेष समारोह आयोजना गरेको कर्पोरेसनले कारोबार र सेवा क्षेत्र विस्तार गर्ने जनाएको हो ।
कर्पोरेसनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ । कर्पोरेसनले उद्देश्यअनुसार जनतालाई सुपथ र सहजरूपमा गुणस्तरीय उपभोग्य वस्तुहरू उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउनुभयो । उहाँले कर्पोरेसन अब कारोबार र सेवा विस्तार गर्नमा प्रयत्नशील रहेको समेत जानकारी गराउनुभयो ।


कर्पोरेसन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोगक्ताहरुलाई सहज रुपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कर्पोरेसनले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्याउने उद्देश्यले अनुदानित मलमा मात्रै सिमित नभई गैर अनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको आवश्यकताअनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरुको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

उहाँले नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधरणमा सहज रुपमा पुर्याउनु प्रशंसा योग्य काम गरिरहेको बताउँदै कृतिम मूल्य वृद्धि नियन्त्रणमा कर्पोरेसनको सकारात्मक भूमिका रहेको भन्दै जनतालाई सुपथ मूल्यमा गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउने काम गरेको जानकारी गराउनुभयो ।

६० वर्ष पूरा गरेको उपलक्ष्यमा वार्षिक उत्सवमा कर्पोरेसनले विभिन्न मानबाट कर्मचारीहरुलाई पुरस्कार, २० वर्ष पुरा गरेका कर्मचारीहरुलाई सम्मान तथा कर्मचारीका उत्कृष्ट छोराछोरीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।