कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी र इन्जिनियर हिमालयसिंह ऐरविरुद्ध मुद्दा दर्ता गरेको छ ।
यस्तै प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले कर्मचारी निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको बताउनुभयो ।
‘प्रशासनका प्रमुख कर्मचारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका समस्यामा परेको छ’, उहाँले भन्नुभयो, ‘लेखा शाखामा एउटा पनि कर्मचारी थिएन अहिले एक जना लेखापाल कोलेनिकाबाट पठाएको छ ।’ उहाँले पालिकामा जनशक्ति पर्याप्त नहुँदा सामान्य कामबाहेकका काम हुन नसकेको बताउनुभयो ।
उहाँले अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नगरपालिकाकै जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौँ, कर्मचारी नहुँदा हामीलाई काम गर्न निकै सकस भइरहेको छ ।’