फाइल तस्वीर
मौले ब्राहिम — मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छ भने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् ।

भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतिरिनुपरेको पीडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।

भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एक जना पीडितका अनुसार करिब दुई सय जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छभने अन्य हराइरहेका छन् । “यो गाउँका मानिस या त अस्पतालमा छन् वा जीवित छैनन्,” बिलौना गर्दै हसन भन्छन् ।

भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ । परम्परागत घरका इँटा र ढुङ्गा बाटामा असरल्ल छन् । हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन् तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन ।