काठमाडौँ — अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का ४९ सदस्यले अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज सोमबार एन्फाको केन्द्रीय कार्यलयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएर एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

क्लब, जिल्ला फुटबल सङ्घ तथा महिला फुटबल सङ्घ गरी ४९ साधारणसभा सदस्यले हस्ताक्षर गरेको निवेदन बुझाएका हुन् । उक्त समूहले आज सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दर्ता गराएको र एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएका थिए । अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाइएको हो ।

४९ सदस्यले बुझाएको निवेदनमा लेखिएको छ,‘वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन उद्दत रहेको र सम्बन्धित व्यक्तीहरुलाई सो पदमा निरन्तरता दिँदा नेपाल फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने हाम्रो ठहर हो ।’ विधानको धारा ३६ ९ (३) बमोजिम एन्फा कार्यसमितिले यो निवेदन प्राप्त भएको मितिले ३० दिनभित्र अनिवार्य रुपमा विशेष साधारण सभाको बैठक आह्वान गर्नुपर्ने कानुनी दायित्व रहेको समेत जानकारी गराएको छ । निवेदनमा विविध १९ विषय उल्लेख गरिएको छ ।