हनोई — भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको छ । ह्वाइट हाउसले आज सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेको हो ।

हनोईमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले बोइङ र भियतनामको राष्ट्रिय वायुसेवा कम्पनीबीच भएको ऐतिहासिक सम्झौताको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ ।

यो सम्झौताले संयुक्त राज्य अमेरिकामा ३० हजारभन्दा बढी रोजगारीलाई सहयोग गर्ने बताइएको छ । भियतनाम एयरलाइन्सले ७३७ मध्ये ५० वटा विमान खरिद गर्ने बाइडेनले अमेरिकी र भियतनामी उच्च कम्पनीका वरिष्ठ अधिकारीहरूसँगको गोलमेच सम्मेलनका क्रममा बताउनुभयो ।

भियतनाम एयरलाइन्ससँग हाल १५ वटा बोइङ ७८७ ड्रीमलाइनरसहित १०० वटा विमान छन् । बोइङ जेटले एक दशकभन्दा पुराना विमानलाई प्रतिस्थापन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हवाई यात्राका लागि बढ्दो माग र बजेटको यथेष्ठ विनियोजनका कारण हालैका वर्षहरूमा भियतनामको उड्डयन क्षेत्र फस्टाएको छ ।