फाइल तस्वीर
मुगु — कर्णालीे प्रदेशको मुगु जिल्लामा पनि विद्युत्को राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर मुगु सदरमुकाम गमगढीसम्म पु¥याएको हो ।

प्राधिकरणले आइतबारबाट गमगढी लगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको थियो । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगढी साना जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो ।

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब कर्णाली प्रदेशको हुम्लामा मात्रै राष्ट्रिय प्रसारण लाइन जोड्न बाँकी छ । हुम्लामा पनि राष्ट्रिय प्रसारण लाइन पु¥याउन ठेक्का सम्झौता सकिएर सर्भे भइरहेको बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तिब्र रुपमा अगाडि बढाइने बताउनुभएको हो ।

अहिले मुगु जिल्लामा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक रहेका छन् । गत वर्ष आएको भारी वर्षाका कारण जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो ।

भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति गरेको थियो । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सव–स्टेशनका संरचनामा पनि क्षति पुगेको थियो। बाढीपहिरोले क्षति भएको नहरको पुनर्निर्माण र मर्मतपछि जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो ।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३–११ केभी सवस्टेशन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।