प्रतिकात्मक तस्वीर

काठमाडौं — वैदेशिक रोजगारीमा पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सर्बिया, टर्की, फ्रान्सलगायत विभिन्न देशमा काम गर्न पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसरी प्रक्राउ पर्नेमा धादिङ स्थायी घर भई हाल भक्तपुर जिल्लामा बस्दै आएका राजकुमार लामिछाने, कैलाली स्थायी घर भइ हाल काठमाडौंको मित्रनगर नयाँ बसपार्क बस्ने चित्रबहादुर मगर र स्याङ्जा स्थायी घर भई काठमाडौँको सुकेधारा बस्दै आएका वीरबहादुर गुरुङलाई छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितबाट १७ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन रहेका ४० वर्षीय राजकुमार लामिछानेका साथै धादिङ स्थायी घर भई हाल भक्तपुर जिल्लामा बस्दै आएका बलराम थापासमेत गरी तीन जनालाई प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने भन्दै पटक पटक गरी सो रकम लिई सम्पर्कविहीन भएका थिए ।

यसैगरी राजगारीका लागि टर्की पठाइदिने भन्दै दुई लाख ५० हजार रुपैयाँ लिई पीडितसँग सम्पर्कविहिन गरेर बसेका २३ वर्षीय चित्रबहादुर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । कैलालीका स्थायी घर भई हाल मित्रनगर नयाँ बसपार्क बस्दै आएका मगरले टर्कीको होटलमा काम गर्न पाँच लाख रुपियाँ लाग्ने र मासिक तलब एक लाखभन्दा धेरै हुन्छ भनी निशान खड्कालाई प्रलोभनदेखाइ रकम असुलेका थिए ।

यसैगरी, प्रहरीले कामकैलागि फ्रान्स पठाइदिने भन्दै १४ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका ४९ वर्षीय वीरबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ । स्याङ्जा स्थायी घर भई काठमाडौँको सुकेधारा बस्ने गुरुङले राजभक्त रानाभाटलाई फ्रान्सको एक होटलमा मासिक तलब एक लाख रुपियाँभन्दा बढी हुने र त्यसका लागि १७ लाख रुपियाँ लाग्ने झुटो आश्वासन दिएका थिए ।

प्रहरीका अनुसार तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।