फाइल तस्वीर
नयाँदिल्ली — रूसले नयाँदिल्ली शिखर बैठकबाट करिब एक सय देशमा सदस्यता विस्तार गरेको अन्तरसरकारी सङ्गठन जी २० को १८ औँ शिखर बैठक औद्योगिक एवं आर्थिक रुपमा कम विकसित देशबीच एकता र सहकार्यको भावना प्रवर्द्धन गर्न सफल भएको बताएको छ । रूसी विदेश मन्त्री सेर्गेई लाभरोभले जी २० को इतिहासमा पहिलो पटक औद्योगिक एवं आर्थिक विकासको बाटोमा विस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न समूहको नयाँदिल्ली शिखर सम्मेलन सफल भएको बताउनुभएको हो ।

भारतको सक्रिय अध्यक्षतामा पहिलोपटक ग्लोबल साउथका मुलुकलाई एकताबद्ध गर्न सफलता मिलेको उहाँले शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताउनुभयो । विदेशमन्त्री लाभरोभले स्पष्ट र समतामूलक विकास एवं सन्तुलनका लागि प्रयास गर्न घोषणापत्रमा जोड दिइएकामा त्यसको सराहना गर्दै पश्चिमा देशहरूले जलवायु परिवर्तनसँग जुध्न आर्थिक सहायता जुटाउन गरेका प्रतिबद्धताको पूर्णरुपमा पालना नगरेको आरोप लगाउनुभयो ।

ब्रिक्सका साझेदार ब्राजिल, भारत, चीन, दक्षिण अफ्रिका विशेष रूपमा सक्रिय रहेका बताउँदै उहाँले आर्थिक विकासमापछि परेका देशलाई अब सहकार्य गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । पश्चिमा जगत्ले पनि धेरै पहिले जलवायु परिवर्तनका नकारात्मक परिणामहरूको सामना गर्न वार्षिक एक सय अर्ब अमेरिकी डलर उपलव्ध गराउने वाचा गरेको तर त्यसमा केही प्रगति भएको छैन ।

यद्यपि विश्वव्यापी अर्थतन्त्रमा सन्तुलन कायम गर्न दीर्घकालीन प्रतिवद्धताअनुसार गर्नुपर्ने काम घोषणापत्रमा उल्लेख गरिएकामा त्यसको प्रशंसा गर्नुभयो । उहाँले आगामी नोभेम्बरको अन्त्यमा नयाँदिल्ली शिखर बैठकमा प्रस्ताव गरिएका अन्तरराष्ट्रिय आर्थिक सहयोगका विषयबारे छलफल गर्न भारतका प्रधानमन्त्रीबाट भएको प्रस्तावप्रति समर्थन जनाउँदै त्यो हिजो र आज भएका सम्झौता कार्यान्वयनको समीक्षा गर्ने अवसर हुने बताउनुभयो ।